धनगढी। कैलालीको गेटामा थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भैरहेको छ। गेटास्थीत सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको ५ अर्बका भौतिक संरचनाहरु तयार भैसकेको र बाकीँ अन्य काम भने जारी रहेको जनाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ५ अर्ब खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला भवन तयारी अवस्थामा राखेकोे छ। छात्राबास भवन तथा आवासका लागि समेत भवन निर्माण र आवश्यक फर्निचरसमेत खरिद गरिसकेको बताएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत अन्तरगत पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले ५ वटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम जारी रहेको बताए। उनले चालु आर्थिक वर्षको अन्तिमसम्मका लागि सडक, खानेपानी, बिजुली, भवन र पर्खालको काम बाँकी रहेकोले सो काम जारी रहेको बताए । ति संरचना निर्माणको काम गर्न दुई अर्ब २० करोड लाग्ने बताए।
८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड,ओभरहेड ट्याङ्कीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नसिर्ङग छात्राबास र चारवटा आवास निर्माणका लागि ४२ करोड, विद्युत लाइन विस्तार तथा जडानका लागि ३५ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको छ।पाँचवटै ठेक्काको काम पूरा हुन अझै एक आर्थिक वर्ष लाग्ने देखिएको पुजाराले बताए ।
उनका अनुसार सडक निर्माणको काम अहिले सुरु भएको र अस्पतालको फोहोर पानी व्यवस्थापनका लागि भने ठेक्का गरिएको छैन। फोहोर पानी प्रसोधनका लागि ठेक्काको तयारी गरिए पनि रोकिएको जानकारी दिए । उनले अझै ९० करोड बजेट आवश्यक पर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गरेको छ । संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमा पूर्वाधार समिति खारेजको विषय उल्लेख गरेपछि अन्योल बढेको पुजाराले बताएका छन्। अस्पताल सञ्चालनको तयारी गरेका बेला सो समिति खारेज गरेपछि अन्योल बढ्ने उनको भनाई छ ।