धनगढी। धनगढी उपमहानगरपालीकामा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट ३७ हजार बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु भएको ठिक एक वर्षको अवधीमा ३७ हजार ३ सय बिरामीले बिरामीले विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएका हुन्।
२०७९ श्रावण १ गतेबाट तालिका अनुसार धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो। नगर प्रमुख गोपाल हमालले विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने र उपमहानगरबासीले वडाबाटै स्वास्थ्य उपचार पाउने उदेश्यले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका थिए ।उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत आवको पहिलो दिनमा नगरप्रमुख हमालले सुरु गरेका थिए।
विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरले सुरु गरेको महिनामा एक दिन एक वडामा विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनको सिको सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहलाई गर्न आग्रह गरेका थिए। स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने र सुधार गर्ने हो भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनले ठूलो मद्दत पु¥याउने उनले बताएका थिए। प्रदेश सरकार यस्ता प्रभावकारी कार्यक्रममा साझेदारी गर्न तयार रहेको उनले बताएका थिए।
नगर प्रमुख हमालले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा ल्याएको र बाँकी चार वर्ष कार्यकालसम्म निरन्तर यो सेवा सञ्चालनमा रहने बताए । उनले यसलाई उपमहानगरले साझेदारी कार्यक्रम तथा योजनाअन्तर्गत राखेको र सबैको सहयोग चाहिएको जानकारी दिए । उनले उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले रहेको बताए।
उनका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरिएको छ।
खासगरी ग्रामीण महिलाहरू स्वास्थ्य सेवा पहुँचबाट टाढा छन्। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वडा क्लिनिकमा छन्। यो एक प्रकारले आमा बचाउ कार्यक्रम भन्दा हुन्छ।’ उनले भने, यस कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त भएको बताए। नगर प्रमुख हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि दिएर विपन्न नागरिकको स्वास्थ्य उपचारमा थप योगदान पु¥याएका छन्।
उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन हुँदै आएको छ। साथै वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले १५ सिट क्षमताको विद्युतीय गाडी नै खरिद गरेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकिएको छ। विद्युतीय सवारी साधन वडा क्लिनिकका लागि खरिद गरिएपछि औषधि ढुवानीका साथै विशेषज्ञ चिकित्सकले वडावडामा गएर सेवा गर्न सहज हुने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।