धनगढी। काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने निर्णय गरेका छन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेट पारित गर्ने निर्णय आज दुवै दलको संसदीय बैठकले गरेको हो।
मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसका प्रदेश सभाका सदस्यहरुको गुनासो र मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि सम्पूर्ण प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका हुन् ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीले बजेटका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् ।
यसअघि असमान ढंगले बजेट आएको भन्दै सुदूरपश्चिममा दलहरुले विरोध गर्दै आएका थिए ।बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरुले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो । त्यसपछि दलहरुले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाउन थालेका हुन्।
सत्तारुढ दल काँग्रेसका १८, माओवादीका ११, नागरिक उन्मुक्तिका सात र समाजवादीका चार जना सांसद समेत गरी ४० जना सांसद बजेटको पक्षमा छन् । बजेट पास गर्न २७ जना सांसदको समर्थन आवश्यक पर्छ । बजेटको बिपक्षीमा नेकपा एमालको १०, राप्रपा र स्वतन्त्रका एक/एक जना गरी १२ जना सांसद छन् ।असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए।