काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो।
राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।
‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले भने। तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ। जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।
कार्यालयले २०७८ साल भन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ । सोहीकारण २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।
निर्देशक लामिछानेका अनुसार यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । जनगणनाको काम २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको थियो । नतिजा जाँच सर्वेक्षणको काम भने २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रुपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए। जनगणना जाँच सर्वेक्षण २०७८ नाम दिइएको यो सर्वेक्षणले स्थलगत गणना कार्यको विधि र प्रक्रिया मुल जनगणनाकै अपनाएको बताइएको छ । यसका लागि देशैभर भने गणक पुगेनन्। बरु नमुनाका रुपमा गणना क्षेत्र छनोट गरियो। ती क्षेत्रमा भने जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो ।
सर्वेक्षण प्रतिवेदन अनुसार जनगणना २०७८ का गणना क्षेत्रलाई प्राथमिक छनोट एकाई मानेर नमुना गणना क्षेत्र छानिएको थियो । सो अनुसार देशलाई ८ बृहत्तर क्षेत्रमा विभाजन गरिएको थियो । ती ८ क्षेत्रबाट शहरी र ग्रामीण भेगको समुचित प्रतिनिधित्व हुने गरी १०/१० गणना क्षेत्र नमुनाका रुपमा छानिएको थियो। यस अनुसार ८० गणना क्षेत्र छानिए । नमुना क्षेत्रमध्ये शहरी क्षेत्रबाट ५० र ग्रामीण क्षेत्रबाट ३० क्षेत्र छानिएका थिए । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई नमुनामा समेटिएको प्रतिवेदनले देखाएको छ।
प्रतिवेदन अनुसार गणना जाँच सर्वेक्षणमा मुल जनगणनामा प्रयोग भएको प्रश्नावलीको छोटकरी रुप तयार गरी सोधिएको थियो । यसरी आएको निष्कर्षका आधारमा देशभर छुटेको जनसंख्याको नतिजा निकालिएको सर्वेक्षण नतिजा प्रतिवेदनमा उल्लेख गरिएको छ। ८ क्षेत्र अनुसारको वर्गिकरणमा भने काठमाडौं उपत्यकामा धेरै जना छुट भएको पाइएको छ। काठमाडौंमा ४.४२ प्रतिशतको गणना छुटेको हो। त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।
उमेर अनुसार हेर्दा ८० वर्ष वा सो भन्दा पाको उमेरका व्यक्तिको सबैभन्दा धेरै ४.१ प्रतिशतले छुट भएको छ। २० देखि २४ वर्षको ३.९ प्रतिशत, २५ देखि २९ वर्षको ३.८ प्रतिशत छुट भएको हो। छुटमध्ये महिलाको दर २.३ प्रतिशत र पुरुषको २.९ प्रतिशत देखिएको छ। साक्षर २.९ प्रतिशत र निरक्षर २.६ प्रतिशत छुटेको पाइएको हो। यसबाट गनगणनामा निरक्षरभन्दा साक्षर धेरै छुटको पाइएको छ । विवाहित २.१ प्रतिशत जनसंख्या छुट्दा अविवाहितको संख्या ३ प्रतिशतले छुटेको छ।