धनगढी। सुदूरपश्चिम प्रदेशमा सत्तामै रहेका तीन दलले यथास्थितिमा बजेट पास गर्न नदिने अडानमा छन्। प्रदेशसभामा असार १ गते प्रस्तुत गरिएको बजेटमाथी २६ दिनपछि मंगलबार छलफल गरिएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी प्रस्तुत गरिएको बजेटप्रति सत्तारुढ दलका प्रदेश सभा सदस्यले सुरु देखी नै असन्तुष्ट जनाउँदै आएका छन्। नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास हुन नदिने निर्णय गरेका छन्। उनीहरूले बजेट मन्त्रीमुखी भएको, बजेटको आकार घटाएको,सांसदको भूमिका शून्य पारिएको र मन्त्रीका निर्वाचन क्षेत्रमुखी गरिएको आरोप लगाउँदै संसोधनको माग गरेका छन्।
१९ प्रदेश सभा सदस्यसहित प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका ७ जना प्रदेशसभा सदस्य बजेटको विरोधमा रहेका छन्। सत्तामा रहेको अर्को ठूलो दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरू मंगलबारको संसद बैठकमा सहभागी भए पनि उनीहरूले बजेट माथिको छलफलमा भाग लिएनन्। संसद सचिवालयले मंगलबार अपरान्ह ३ बजेसम्म संसदमा बोल्ने प्रदेश सभा सदस्यको नाम टिपाउन सूचना गरेको थियो। तर यी दुई दलले भने नाम टिपाएनन्।
यसअघि सोमबार माओवादी, समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेट संसोधन नभए यथास्थितिमा पास नगर्ने निर्णय गरेका थिए। बजेटमाथी छलफलका क्रममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट स्वार्थमुखी भएको बताए। उनले सांसद विकास कोष लागू गरेर जनविरोधी काम गरेको र यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न नसक्ने बताए । नीतिगतभन्दा पनि नेतागत बजेट आएकोले सत्ता गठबन्धनले कुनै प्रगति गर्न नसकेको र बजेटले थप निराशा पैदा गरेको उनले बताए । भूमिहीन, सुकुम्बासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको आरोप लगाउँदै रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए ।
नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले यथास्थितिमा बजेट समर्थन गर्न नसकिने भन्दै संशोधन गर्न माग गरे। उनले बजेट माथि छलफल गर्दा र बजेट आउनुपुर्व निती तथा कार्यक्रम प्रदेशसभामा ल्याएको बताए । उनले बजेट विभेदपूर्ण रहेको समेत आरोप लगाउँदै बजेट सोचे अनूरुपको नल्याएको बताए।यथास्थितिमा समर्थन गर्न सक्ने अवस्था छैन’ उनले भने ‘पुन संशोधनमा जाओस् भन्ने सभामुख मार्फत मुख्यमन्त्री समक्ष पुराउन चाहन्छु।’उनले आफ्नो केही क्षेत्र र मुख्यमन्त्री कमल बहादुर शाहको क्षेत्र एउटै पालिका भित्र रहेको भन्दै त्यहाँ बजेटमा चरम विभेद भएको बताए । उनले बजेटका शीर्षकहरू समेत संशोधन गर्न आवश्यक रहेको टिप्पणी गरे।
उनले भने, चौधरीले संशोधन नहुँदा सम्म यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका हुन्। यता माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षरमा ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभूति भएको भनिएको छ, उनीहरुले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्। उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन् ।नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता दीर्घ बहादूर सोडारीले प्रदेश सरकारको बजेट प्रती ब्यापक अशन्तुस्टी जनाएका छन् । उनले सबै प्रदेशमा बजेट सानो आयो सुदूरपश्चिमको बजेटपनि सानो आएको छ, सानो बजेटले धेरै ठाउँमा नपुग्ने बताए। असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए। असार अन्तिमतिर पुग्दासम्म बजेट पारित हुन सकेको छैन ।