धनगढी :भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध भोलि मङ्गलवार बिहान खोलिने भएको छ । भारतले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धौलीगङ्गाको बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएको हो ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेशनले पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो । बाँधको ढोका खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी किनाराका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए ।
महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी किनारका बासिन्दाहरुलाई भोलि दिनभरी नै सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।