कैलाली। बैतडीबाट कैलाली ल्याइएको गोलभेँडामा विषादी भेटिएपछि नष्ट गरिएको छ। आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्युन्टेल गोलभेडामा विषादी भेटिएपछि नष्ट गरिएको हो।
विक्रीका लागि बैतडीबाट अत्तरिया ल्याइएको गोलभेडामा खान नमिल्ने विषादी भेटिएको थियो। अवशेष द्रुत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले कृषि उपज थोक बजार समिति अत्तरियाको पसल नम्बर २ मा धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको बताए । उनले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने भएकाले तत्काल नष्ट गरिएको बताए।
उक्त विषादी युक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रहोवरमा खाल्डोमा हालिएको थियो। पसलका संचालक रमेश भट्टले आइतबार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेको बताए । उनले उक्त ट्रकमा ल्याइएको गोलभेडा अन्त कता विक्री गरियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए।