धनगढी। कैलालीको गेटामा १०० शय्याको अस्पताल सञ्चालनका लागी जनशक्ति माग गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मन्त्रिपरिषद्मा १४१ जना जनशक्तिको दरबन्दी माग गर्दै स्वीकृतका लागि फाइल पठाएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।
उनले मन्त्रिपरिषद्मा एक सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ जनशक्ति आवश्यक पर्ने भएकाले आज फाइल पठाएकोे जानकारी दिए। जोशीले प्राविधिक, प्रशासन तथा सफाइ कर्मचारीको दरबन्दी स्वीकृतका लागि स्वास्थ्य मन्त्रालयले फाइल मन्त्रिपरिषद्मा पुगेको बताए। स्वास्थ्य मन्त्रालयको प्रस्ताव संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरे गेटामा अस्पताल सञ्चालन हुनेछ।
संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालनका लागि प्रस्ताव गरेको हो। गेटामा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ। अस्पतालका निर्देशक जोशीले सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या,प्रयोगशालाका सामान र अल्ट्रासाउण्डका उपकरणहरु गेटा पुगेको बताए। तर प्रयोगशालाका उपकरण र एक्सरे मेसिन भने आउन बाँकी रहेका छन्।
अस्पतालमा पानीको व्यवस्थापन, उपकरण र जनशक्तिको काम पूरा भए संघीय स्वास्थ्यमन्त्रालयको स्वीकृतमा सय शय्याको अस्पताल सञ्चालनमा आउने बताइएको छ । निर्देशक जोशीले दरबन्दी स्वीकृत लगत्तै अस्पताल सञ्चालनमा आउने समेत बताएका छन्। तर शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्ने भन्दै ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै आएको छ।