डोटी। दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएको छ। आइतबार नगरपालिकाको १४ औँ नगर सभाको दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउदले आगामी आर्थिक वर्षको लागि ६४ करोड २५ लाख ४३ हजार नौ सय बराबरको बजेट पेस गरेकी हुन्।
कुल विनियोजन मध्ये चालु तर्फ रु ४४ करोड ५९ लाख तीन हजार ९ सय अर्थात् ६९ दशमलव ४० प्रतिशत र पूजिगत तर्फ रु १९ करोड ६६ लाख ४० हजार अर्थात् ३० दशमलव ६० प्रतिशत रहेको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याइएको उपप्रमुख साउदले बताइन् । कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने उद्देश्य राखी नगर क्षेत्रको जमिन बाझो राख्न नदिने नीति अवलम्बन गर्ने उनको भनाई छ ।
नगरपालिकाले क्रमशः शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधि तथा सञ्चार, मानव संसाधन तथा सामाजिक विकास, उद्यम, वन वातावरण तथा पर्यटन र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको छ। नगरपालिकाले आयतर्फ आन्तरिक आय १ करोड ५२ लाख ६६ हजार ९ सय, बैङ्क मौज्दात ३ करोड १६ लाख ६० हजार, सङ्घीय वित्तीय समानीकरण ११ करोड ८२ लाख, प्रदेश वित्तीय समानीकरण १ करोड १ लाख ४४ हजार, सङ्घीय राजश्व बाँडफाँड १० करोड ६९ लाख २३ हजार, प्रदेश सवारी साधन कर बाँडफाँड ३७ लाख ७ हजार, स्थानीय राजश्व बाँडफाँड १९ लाख ७ हजार, सङ्घीय सशर्त अनुदान ३० करोड ४७ लाख, सङ्घीय विशेष अनुदान १ करोड ५५ लाख, सङ्घीय समपूरक अनुदान १ करोड २५ लाख, प्रदेश सशर्त अनुदान ५४ लाख ५० हजार, प्रदेश विशेष अनुदान ५० लाख, प्रदेश समपूरक अनुदान १ करोड १५ लाख ८६ हजार अनुमान गरेको छ ।