धनगढी। कैलालीको कैलारी गाउँपालिकामा थप ९ सय २१ जनामा सिकलसेल पोजेटिभ देखीएको पाइएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको थारु समुदायको बाहुल्यता रहेको सो पालिकाकाका ६ हजार ७ सय ६४ जनाको स्क्रिनिङ गरिएको हो।
जसमध्ये कुल परीक्षणको १३.६१ प्रतिशतको सिक्लिङ पोजेटिभ देखिएको चिकित्सकको भनाइ छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले सिक्लिङ पोजेटिभ देखिएकामध्ये कति जना सिकलसेलको बिरामी र कति जना बाहक (ट्रेट) हुन भन्ने कुराको पुष्टि हुन एक हप्ता समय लाग्ने बताए ।
किटद्वारा गरिएको स्क्रिनिङबाट सिक्लिङ पोजेटिभ भएको मात्रै पत्ता लाग्ने गर्छ । सिकलसेल रोगको बिरामी वा बाहक पुष्टि गर्न सिक्लिङ पोजेटिभले पुनः इलेक्ट्रोफोरेसिस मेसिनबाट परीक्षण गराउनु पर्छ। सेती प्रादेशिक अस्पतालमा यो परीक्षणको व्यवस्था रहेको छ। कैलारी गाउँपालिकाको नौ वटै वडामा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो । वडा नम्बर १ मा ९४९ जनाको परीक्षण गर्दा ७८, वडा २ मा ७९८ को परीक्षण गर्दा ९०, वडा ३ मा ६९२ जनाको परीक्षण गर्दा ८७ जनाको सिक्लिङ पोजेटिभ रिपोर्ट आएको थियो । यसैगरी, वडा ४ मा ८७४ जनाको परीक्षण गर्दा ९७, वडा ५ मा ९४१ जनाको परीक्षण गर्दा २२९, वडा ६ मा ५७१ जनाको परीक्षण गर्दा ६८ जनाको पोजेटिभ रिपोर्ट आएको छ।
वडा नम्बर ७ मा ५५१ जनाको परीक्षण गर्दा ७९, वडा ८ मा ६७४ जनाको परीक्षण गर्दा १४१ र वडा ९ मा ७१२ जनाको परीक्षण गर्दा ५२ जनाको पोजेटिभ रिपोर्ट आएको छ। सिकलसेल थारु समुदायमा लाग्ने वङ्शाणुगत रोग हो। रोगी आमाबुबाको जिनमार्फत यो रोग सन्तानमा देखापर्ने गर्छ । कैलारीमा कुल जनसङ्ख्याको ९५ प्रतिशत थारु समुदायको बसोबास छ।
सो समुदायमा देखापरेको सिकलसेलको यो तथ्याङ्कले सरोकारवालालाई पनि चिन्तित् बनाएको छ। पछिल्लो समय परीक्षणबाट देखापरेको तथ्याङ्कअनुसार कैलारीमा सिकलसेल रोगको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए। उनले भने, “समुदायस्तरमा सचेतनाको खाँचो देखिएको छ ।” सो गाउँपालिकामा ९५ जना सिकलसेल रोगको पुराना बिरामी छन्। उनीहरु गाउँपालिकाको सम्पर्कमा रहेर औषधिउपचार गराउँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।