डोटी। ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाको बिदाइ गरिएको छ। सेवा अवधिको ३० वर्षको लामो समयपछि नेपाल प्रहरीबाट आज देखी अनिवार्य अवकाशमा परेपछि उनलाई एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो।
विसं २०५० सालमा नेपाल प्रहरीको प्रहरी जवानमा नियुक्त भएका थापा ईप्रका दिपायलको प्रमुख भएका थिए। झण्डै तीन वर्ष ईप्रका दिपायलमा कार्यरत थापा अहोरात्र जनताको सेवामा कटिबद्ध रहेको स्थानीयवासीहरु बताउँदै आएका छन्। देश र नागरिकको सेवाका लागि आफू प्रहरी सेवामा आएको र ३० वर्षे सेवा गरेपछि आज बिदाइ भएको प्रनानी थापाले बताए ।
उनल भने, ‘देश र नागरिकको सेवाका लागि प्रहरीमा सेवा गर्न आए, ३० वर्षे कार्यकाल सकेर आज बिदाइ भए, अबको बाँकी जीवन समाजसेवामा बिताउने छु।’ जनतालाई कुनै दुःख पीडा नदिएर सधैँ शान्ति, सुरक्षा अनुभूति होस भन्ने उद्देश्यका साथ थापा आफ्नो कर्तव्यमा व्यस्त रहँदै आएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताए।
उनले भने, ‘दिपायलमा धेरै जना प्रहरी प्रमुख आए, तर थापा सरको योगदान दिपायल तथा यहाँका स्थानीयका लागि अतुलनिय रहने र सदा सम्झिने बताए। बिदाइ कार्यक्रममा प्रनानी थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा कसै प्रति नराम्रो पर्न गएको भए क्षमा समेत मागेका थिए । साथै उनले ईप्रकामा कार्यरत रहँदा साथ सहयोग गर्नुहुने सरोकारवाला सबै पक्षलाई धन्यवाद समेत दिएका थिए ।