बैतडी। लम्पी स्किन संक्रमणले जिल्लामा ५०२ पशुचौपाया मरेका छन्। संक्रमणका कारण १३५ बाच्छाबाच्छी, १७६ गाई, १३२ गोरु र ३० भैँसी मरेका हुन्। रोग महामारीका रूपमा फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।
अहिले आठ हजार २२६ पशुचौपाया संक्रमित रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए। दुई हजार ३४८ बाच्छाबाच्छी, दुई हजार ९६० गाई, दुई हजार २८० गोरु र ६४५ भैसी संक्रमित भएका हुन्। लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित छन्। घरपालुवा पशुमा संक्रमण हुन थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए।
‘मेहनत गरेर पालेका घरपालुवा जनावर धमाधम थला पर्न थालेपछि चिन्ता बढेको छ। औषधोपचार पनि छैन’, उनले भने।मकै छर्ने बेला गोरु बिरामी भएपछि रोपाइँ गर्न निकै समस्या भएको विष्टले बताए। ‘मकै छर्ने बेला पनि गोरु बिरामी भएर समस्या भयो। अब रोपाइँ गर्ने बेला भयो के गर्ने भनेर चिन्ता बढाएको छ’, उनले भने।रोग महामारीका रुपमा फैलिएकोबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पन्तले बताए।
जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। ‘यो रोग फैलिएको छ,लेकाली चिसो हुने गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ। प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइसकेका छौँ’, उनले भने। नियन्त्रणका लागि सामान्य औषधोउपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्त बताउँछन्। ‘लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ’, उनले सामान्य औषधोपचारबाहेक नियन्त्रणको अन्य कुनै उपाय छैन। सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन् बढ्ने देखिन्छ।’
यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका १० जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड रहेको छ। ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन। अरु परिचालन गर्नुपर्छ। साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ’, उनले भने।बैतडीमा गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिँगान तथा ¥याल बगाउने, शरीरमा गीर्खा आउने र खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्। यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्न सुझाव दिइएको छ।