काठमाण्डौँ। नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाश शरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा मङ्गलवार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।
एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थ मन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व सङ्कलन कसरी सङ्कलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए। ‘ कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थ मन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ ,’ सांसद तामाङले बैठकमा बोल्दै भने ।
सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत खुलेर विरोध गरे । उनले सहरी विकास मन्त्रालय अन्र्तगत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए। सहरी विकास मन्त्री सिता गुरुङले उनको जिल्ला तेह्रथुममा बजेट विनियोजन गरेको भए समग्र जिल्लाको मन्त्री भएको आभास हुने भन्दै आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे।
उनले भने, ‘मेरो क्षेत्रमा बजेट नपरे पनि केही छैन। तर, हिजो घोषित गरेका ठुला–ठुला आयोजनामध्ये एउटा आयोजना मात्र कार्यक्रम सम्पन्न गर्न बजेट ल्याएको भएको हुन्थ्यो भन्ने मेरो कुरा हो। ’ सुदूरपश्चिम सरकारका पूर्व अर्थमन्त्री समेत रहेका सांसद तामाङले सहरी विकास मन्त्रालयले कञ्चनपुरको पूर्नवासलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए । उनले सरकारले जग्गा एकीकरण गरेर पूर्वाधार निर्माण गर्ने भनेर डिपिआर बनाउन करोडौ खर्च गरेपनि सुदूरपश्चिममा बजेट विनियोजन नगरेको भन्दै विरोध जनाए।
‘सरकारले कञ्चनपुरको पुनर्वासमा कहिले बजेट विनियोजन गर्दैन । राजा र पञ्चायत कालमा पुनर्वासमा १० हजार हेक्टरमा व्यवस्थित बस्ती बसालिएको छ। अहिले सरकारले मध्य लोकमार्गले छोएको पहाडी क्षेत्रमा १० वटा स्मार्ट सिटीको योजना राखेको देखियो । नयाँ सहर भनेर ५२ वटा कार्यक्रम घोषणा समेत गरेको रहेछ। त्यसमा १ करोड बजेट विनियोजन गरेको छ । नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने र करोडौँ बजेट अरूमा घोषणा गर्ने यो राम्रो देखिएन। मैले पुनर्वासमा बजेट विनियोजन गर्ने विषयमा सबैसँग पहल गरे तर कसैले कुरा सुनेनन् ’ सांसद तामाङले भने। सांसद तामाङले विमानस्थलमा सेटिङ गरेर घरेलु कामदारका रुपमा नेपाली महिलाहरूलाई विदेश पठाउने काम भएको भन्दै असन्तुष्टि समेत जनाए। उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन सरकार लाग्नुपर्ने धारणा राखे।