धनगढी। सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्षका लागी ल्याएको बजेटप्रति सत्तापक्षकै सांसदद्धारा चर्को आलोचना गरेका छन् । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए।
आर्थिक मामिलामन्त्री शाहीले कुल २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। प्रस्तुत गरेको बजेट अन्तर्गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताब’सार्वजनिक गरिएपछि बजेट प्रति सत्तापक्षकै सांसदद्धारा चर्को आलोचना भएको हो । रातो किताब सार्वजनिक भएपछि सत्तारुढ गठबन्धनमा बजेटबारे खटपट र सत्ता पक्षकै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन्।
अहिले सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त सरकार छ। बजेटमाथिको छलफल सुरु नहुँदै रातो किताबको आलोचना र अर्थमन्त्री नरेशकुमार शाही एवं सरकारप्रति प्रदेशसभा सदस्यहरुले आक्रोश पोख्न थालेका हुन्। सत्तापक्षकै कतिपय सांसदहरुले बजेटको रातो कितावलाई कालो कितावको संज्ञा दिएका छन् । बिरोध गर्नेमा सत्ता साझेदार माओवादी केन्द्रका सुदूर पश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट समेत हुन् ।यद्दपि माओवादी केन्द्रका नेताहरुले बजेटमा भएको कमजोरीको जिम्मेवारी भट्टले समेत लिनु पर्ने जिकिर गरेका छन् । माओवादी संसदीय दलका नेता भट्टले प्रदेश सरकारले ल्याएको बजेटको सन्दर्भमा संक्षिप्त टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, संघियतालाई स्वयमबाट कमजोर पार्ने प्रयास गरिनु दुःखद । माओवादीका प्रदेश सभा सदस्य ओम बिक्रम भाट सरलले बजेटको रातो कितावलाई कालो कितावको संज्ञा दिएका छन् । रातो कितावलाई कालो बनाएर उनी सामाजिक सञ्जालमा लेख्छन्, सुदूर पश्चिम प्रदेशको आव २०८०/८१ को रातो किताव रातो आउने स्वाभाविक आउने अपेक्षा थियो । तर कालो आएछ । उनले यथास्थितिमा बजेट कुनै पनि हालतमा पास हुन नसक्ने बताए ।
उनले भने, सरकार छोड्न परे, छोड्छौ, तर यथास्थितिमा बजेट पास हुन दिन्नौ । पूर्व मन्त्री तथा माओवादी प्रदेश सभा सदस्य मान बहादुर धामीले रातो कितावलाई सामाजिक सञ्जालमा राख्दै त्यसमाथि टिप्पणी लेखेका छन्, तिमीसंग भेट्न त के, हेर्न लायक पनि रहेनौ । डियर पवित्र, तिमी एक्लै बस्नु ल । सत्ता र शक्तिको आडमा जनता ठग्नेहरुलाई जनकारबाही गर्न ढिला भईसक्यो, माओवादीका प्रदेश सभा सदस्य अक्कल रावलले रातो किताव तथा वार्षिक कार्यक्रमको तस्वीर सामाजिक सञ्जालमा राखेर लेखेका छन्,जनताको मत र विश्वासलाई व्यापार ठान्ने काला प्रबृतिहरुको आय व्ययको विवरण बाहेक केही होईन, यो आर्थिक वर्ष २०८०/८१ को बजेट मान्नै सकिन्न । दुई चार जना अमूक व्यक्तिहरुको फर्जी आदेशको भरमा छापिएको रातो किताव कितावभित्र काला काला डरलाग्दा करतुत बाहेक केही छैनन ।माओवादीकी प्रदेश सभा सदस्य लक्ष्मी बिकले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, समाजवादी मोर्चा बनेको दिन र मोर्चाको यो बिशाल उद्देश्यमा आम गरीवका आँशुहरुले के भन्दैछ होला ? धन्य हाम्रो प्रदेश सरकार । जय मेरो देश, जय प्रदेश । प्रदेश सरकारले ल्याएको बजेटको चर्को बिरोध गर्नेमा अधिकांश माओवादी सांसदहरु छन्। समाजवादी र काँग्रेसका सांसदहरुले समेत बजेटको बिरोध गरेका छन्। एमालेका नेता तथा सांसदहरु भने शुरुदेखि नै बजेटको बिरोधमा थिए ।सत्ता गठबन्धनमा रहेर सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बजेट प्रति निकै गुनासो आइरहेको र आफूले कार्यक्रम पुस्तिका अध्ययन गरिरहेको बताए ।
स्वतन्त्र निर्वाचित सांसद डा. तारा जोशीले नेताहरूले निराशाजनक बजेट आएको बताए। आश्वासन दिएका योजनाहरूमा बजेट हाल्दा राम्रो बजेट नआएको उनको बुझाइ छ ।‘एकदमै निराशावादी छ । जहाँ मन्त्री छन् त्यही बिग्रेको छ अनावश्यक कुरामा बजेट छ । नेताहरूले आश्वासन दिएका योजनामा बजेट छन्’ उनले भने, ‘यस्तो बजेटलाई समर्थन गर्न सकिँदैन ।’अर्थमन्त्री नरेश कुमार शाही भने बजेट यथार्थपरक भएको दावी गर्दै आएका छन् । सत्तारुढ दलबाटै बजेटको तीव्र विरोध सुरु भएपछि प्रदेश सभा बैठकमा बजेट माथिको छलफल अनिश्चित भएको छ । बजेट आएको पाँच दिन सम्म पनि बजेट माथिको छलफलको दिन तय भने भएको छैन ।