अछाम। बलात्कारपछि न्यायका लागि अदालत पुगेकी अछामकी एक किशोरीलाई अछाम जिल्ला अदालतले उल्टै कैद सजाय दिएको फैसला उच्च अदालत दिपायलले उल्ट्याई दिएको छ ।
न्याय माग्न जिल्ला अदालत पुगेकी एक किशोरीलाई ३ वर्ष ६ महिना कैद गरिएको फैसला उच्च अदालत दिपायलले उल्ट्याएको छ । २०७८ फागुन १० मा आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न गएकी अछामको कमलबजार नगरपालिकाकी ती किशोरीले अन्तमा बयान फेरेपछि तत्कालीन जिल्ला न्यायाधीश नवीनकुमार जोशीले उक्त फैसला सुनाएका थिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ को ९ क १० बमोजिम भन्दै न्यायाधीशले ३ वर्ष ६ महिना कैद सजाय फैसला गरेका थिए जबकि कानुनमा यस्तो दफा नै थिएन । २०७९ वैशाख २१ गते जिल्ला सरकारी वकिल कार्यालय अछामले ती किशोरीलाई न्याय माग्नका लागि उच्च अदालत दिपायलमा मुद्दा दर्ता गराएको थियो ।
६ पटक हेर्न नभ्याइने, ६ पटक स्थगित, ४ पटक आदेश र १ पटक हेर्न नमिल्ने गरी रोकिएको उक्त मुद्दा आइतबार १८ औं पटकको पेसीमा फैसला भएको उच्च अदालत दिपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए । न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले केटा पक्षका लागि जिल्ला अदालतबाट भएको फैसला यथावत् राख्दै ती किशोरीलाई सुनाइएको ३ वर्ष ६ महिना भएको फैसला उल्टाएको हो ।