काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् । उनीसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउँद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ।
आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।
प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो। प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ ।भ्रमणको दोस्रो दिन (भोलि) बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। यीलगायतका विषयमा दिल्लीस्थित नेपाली दूतावासले अन्तिम तयारी गरिरहेको छ।
दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्किने कार्यक्रम रहेको छ।प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भ्रमण हो। यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो औपचारिक भारत भ्रमण गरेका थिए । दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका थिए ।