बैतडी। रोजगारीका लागि अधिकांश पुरुषहरु भारत गएपछि अहिले विकास निर्माणको काम गाउँघरमा महिलाहरुले गरिरहेका छन् । चालु आर्थिक बर्षका योजनाहरुको काम धमाधम चलिरहेका बेला ती कामहरु सम्पन्न गर्ने दायित्व महिलाहरुको काँधमा आएको छ ।
पुरुषजति कमाउनका लागि भारत गएपछि गाउँमा भइरहेका विकास निर्माणका काममा महिलाको सहभागिता बढेको स्थानीयहरुले बताएका छन् । सिगास गाउँपालिकाका अधिकांश योजनाको काममा महिलाको सहभागिता पुरुषको तुलनामा बढी रहेको स्थानीय दिपकसिंह धामीले बताए । सिगास गाउँपालिका अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सञ्चालन भइरहेका काममा पनि महिलाको सहभागिता बढीरहेको धामीले बताए ।
सिगास गाउँपालिका वडा नं २ मा गाँजरी–धुरा खानेपानी योजनामा महिलाको सहभागिता बढीरहेको उनले बताए । उनले भने ‘अधिकांश पुरुषहरु कमाइका लागि भारतमा गएपछि गाउँमा विकास निर्माणका कामहरुको जिम्मा महिलाको काँधमा आएको छ । अहिले अधिकाँंश योजनाहरुको महिलाहरुको सहभागिता बढी छ ।’ गाँजरी–धुरा खानेपानी योजनामा ८० प्रतिशत बढी महिलाको सहभागिता रहेको स्थानीय मीना धामीले बताइन् । सो योजनामा पाइप लाइन खन्नेदेखि लिएर बेल्चा चलाउने काम समेत महिलाले गरिरहेका उनले बताइन् ।
उनले भनिन् ‘हाम्रो गाउँको खानेपानी योजनाको काममा हामी गाउँकै महिलाहरुको सहभागिता छ । अधिकांश पुरुषहरु कामको खोजीमा भारतमा छन् । हामीले नै गाउँमा विकास निर्माणको काम गरिरहेका छौं ।’ गाउँमा हुने विकास निर्माणका काममा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको सिगास गाउँपालिका २ की रम्भा धामीले बताइन् । विकास निर्माणको काममा महिलाको सहभागिताले उनीहरुको आर्थिक कारोबारमा समेत सहभागिता बढ्दै गएको उनले बताइन् ।
उनले भनिन् ‘गाउँमा हुने विकास निर्माणका काममा सहभागिता जनाउन पाउँदा आर्थिक हिसाबले समेत महिलाहरुको अवस्था सुधार हुन्छ । यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ ।’ जिल्लाका १० ओटै स्थानीय तहमा सञ्चालनमा रहेका विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै गएको स्थानीयहरुको भनाइ रहेको छ । अधिकांश पुरुषहरु घरबाहिर रहेकाले विकास निर्माणको जिम्मा समेत महिलाको काँधमा आएको स्थानीयहरुले बताएका छन्।