दार्चुला। बैशाख १९ गते दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेका अन्तिम व्यक्तिको शव फेला परेको छ । योसँगै सो घटनामा बेपत्ता ५ जनाकै शव फेला परेको हो । डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमी सोमो थापाको शव सशस्त्र प्रहरी सहायक निरीक्षक केशवदत्त जोशीको कमाण्डमा गएको टोलीले फेला पारेको हो ।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल उनको शव फेला परेको हो । अहिले शव निकाल्ने प्रयास भइरहेको छ भने थप मद्दतको लागि सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक इश्वरीदत्त भट्टको टोली पनि त्यसतर्फ जाँदै गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिएका छन् ।