धनगढी। कैलालीको कैलारी गाउँपालिका–२ मा रहेको बसौटी स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको छ । गाउँपालिकामा ४ कोठे स्वास्थ्य चौकी भवन बनाउन कार्य अघि बढाइएपछि स्थानीयले विरोधपछि निर्माणको काम रोकिएको हो।
स्थानीयले पालिकाले घोषणा गरे अनुसारको भवन नबनाएका कारण विरोध गरेको जनाएका छन । स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड ९ लाख रुपैयाँ विनियोजित गरिएको थियो । तर पनि सानो ४ कोठे भवन निर्माणको कार्य अघि बढाइएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीय नवीन बोहराले दुई तले सुविधा सम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष र वडाध्यक्षले गरेको भएपनि हाल सानो ४ कोठे भवन मात्रै बनाउन थालेपछि विरोध जनाएको बताए ।
उनले हाल भवन निर्माण गरिएको ठाउँमा पहिले नै ६ कोठे भवन भएपनि त्यो भत्काइएको बताए । भवन निर्माणका लागि १ करोड ९ लाख रुपैयाँ विनियोजित गरिएको थियो । विवाद हुँदा भवनको जग हाल्ने काम समेत हुन सकेको छैन। कैलारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास चौधरीले आफूहरूले बजेटको आकार मात्रै हेरेर इस्टिमेट बन्नु पूर्व प्राविधिक पक्षलाई ख्याल गर्न नसक्दा केही असहजता पैदा भएको स्वीकार गरे । वडाध्यक्ष चौधरीका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको लागि संघीय सरकारको तराई मधेश कार्यक्रमको ३५ लाख र गाउँपालिकाको ७४ लाख गरी १ करोड ९ लाख विनियोजन भएको हो ।
भवन निर्माण लागत इस्टिमेट ९१ लाख रहेको छ । तर भवनको टेन्डर ६६ लाखमा स्वीकृत भएको उनले बताए । नेकपा माओवादी केन्द्र कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीले स्वास्थ्य चौकीको बजेट संरचनामा सदुपयोग गर्नुपर्ने बताए । स्वास्थ्य मापदण्ड अनुसार अपाङ्गता मैत्री तथा बालबालिका, बृद्धबृद्धालगायतको सहजता हुने किसीमले स्वास्थ्य चौकी भवन निर्माण गर्नुपर्ने बताए । स्वास्थ्य चौकी भवन मात्रै नभइ दक्ष जनशक्ति व्यवस्थापन, चिकीत्सकिय सेवा व्यवस्थापन, प्रयोगशाला सुविधा सुविधालगायत अन्य सुविधा चाहिने उनको भनाई छ।
बजेट अनुसारको काम हुनुपर्छ उनले भने । भवन निर्माण पश्चात बचेकोे रकम सहि खर्च र थप संरचना बनाउनमा लगाउनुपर्ने उनको सुझाब छ। तर गाउँपालिकाले भने टेन्डर बिलो गएपछि बच्ने रकम यसै भवनमा खर्च गर्न नमिल्ने बताउँदै आएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफू स्वास्थ्य चौकीको भवन निर्माणमा गम्भीर रहेको बताउँदै टेन्डर बिलो गएपछि संघबाट त्यही अनुसार बजेट घटेर आउने तर पालिकाको तर्फबाट भने आउँदो दिनमा बजेट थप गर्ने उनको भनाई छ ।