बैतडी। पहाडी जिल्ला बैतडीमा पनि औलाको जोखिम रहेको छ । जिल्लाको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका दुईओटा वडा औलोको उच्च जोखिममा रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
मेलौली नगरपालिका वडा नं ४ र पञ्चेश्वर गाउँपालिका वडा नं ६ औलोको उच्च जोखिममा रहेका बताइएको छ । ती दुवै वडामा लामखुट्टे नष्ट गर्नका लागि बिषादी छर्किने अभियान जारी रहेको स्वास्थ्य प्रमुख भट्टले बताए । जिल्लाको अरु क्षेत्रको तुलानामा तल्लोसोराड क्षेत्रमा औलोको जोखिम बढी रहेको उनले बताए । महाकाली किनारका बस्तीहरुमा औलोको जोखिम रहेको छ । पहाडी क्षेत्रमा पनि लामखुट्टे उक्लिएसंगै औलोको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
मेलौली नगरपालिका ४ का झण्डै २६० र पञ्चेश्वर गाउँपालिका ६ का झण्डै १५० घरधुरीमा बिषादी छर्कने कार्य भइरहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए । लामखुट्टे नष्ट गर्ने अभियान अन्तर्गत बिषादी छर्कने कार्य भइरहेको उनले बताए । जिल्लाको अन्य ठाउँ पनि औलोको मध्यम जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यद्यपि औलोका बिरामीहरुको संख्या भने कम हुँदै गएको छ। लगातारको प्रयासले औलोको बिरामी कम हुँदै गएका स्वास्थ्य प्रमुख भट्टले बताए । आर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ४ जना औलोका बिरामी फेला परेकोमा गत आर्थिक बर्षमा २ जना बिरामी फेला परेका थिए। चालु आर्थिक बर्षको अहिले सम्म २ जनामा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । औलो लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।