काठमाडौं।एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । आज शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो । नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्यो।
ओमानका लागि मोहम्मद नदीमले ६५ र सन्दीप गोदले ४६ रन बनाए। नेपालका सन्दीप लामिछाने र करण केसीले तीनरतीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायो। नेपालका लागि कुशल मल्लले शतक बनाए। उनले ६४ बल खेल्दै १० छक्का र नौ चौकाको मद्दतमा एक सय आठ रन जोडे । यस्तै सोमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए। ओमानका आयन खानले दुई विकेट लिए ।
यो जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ। नेपाल तालिकाको शीर्ष स्थानमा यथावत् छ ।एसीसी प्रिमियर कपको समूह ए मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ। शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।