काठमाडौँ। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो।
प्रेस सल्लाहकार पोखरेलका अनुसार पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ । नयाँदिल्ली नपुन्जेलसम्म हवाई यात्राका क्रममा राष्ट्रपति पौडेलको उपचार र निगरानीमा त्रिवि शिक्षण अस्पतल र नर्भिक अस्पतालको चिकित्सकको टोली खटिएको छ। परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)लगिएको हो।
छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए। मंगलबार असहज भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित अन्य मन्त्री शिक्षण अस्पताल पुगेका थिए । लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार नभएको भन्दै परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए ।
छातीमा संक्रमण देखिएपछि उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको ती चिकित्सकले बताए । छातीको एमआरआई र सीटी स्क्यान रिपोर्टमा पनि संक्रमणबाहेक नराम्रो रिपोर्ट छैन । ठूलो समस्या छैन । तर परिवारले चाहना राखेकाले थप उपचारका लागि भारत लैजान खोजिएको हो,’ उनले भने। अघिल्लो दिनको तुलनामा मंगलबार असहज महसुस हुनासाथ राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । शीतलनिवास स्रोतका अनुसार बिहानसम्म अवस्था सामान्य थियो । सोमबारसम्म उनी नियमित भेटघाटमै व्यस्त थिए।