डोटी। डोटीको सायल गाउँपालिकाका उपाध्यक्षले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् । गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले गाउँपालिकामा १० शय्याको अस्पताल फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको बताइन्।
उनले छानबिनको माग समेत गरेकी छिन्।अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको बताइन् । कहिले र कति भुक्तानी दियो । कसले अनुगमन ग¥यो भन्ने बारेमा आफुलाई यस बिषयमा कुनै जानकारी नभएको बताइन्। गाउँपालिकाको अनुगमन तथा सुपरीपेक्षण समितिका संयोजक समेत रहेकी उपाध्यक्ष ओलीले मेरो कीर्ते हस्ताक्षर भएकोले छानबिनको माग गरिन्।
उनले कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी भएकोमा आफ्नो कुनै गल्ती नभएको र सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको भनाई छ । आफूले सो बिषयमा गाउँ कार्यपालिकामा समेत कुरा उठाएको र कार्यपालिकाले छानबिन गर्ने निर्णय गरेको उपाध्यक्ष ओलीले बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्ट अस्पताल निर्माण कार्य सम्पन्न भएको भनी कार्यालयमा पेश भएको अनुगमन प्रतिवेदनमा प्रयोग भएको आफ्नो हस्ताक्षर नक्कली भएको उपाध्यक्षले दावी गरेको बताए।
उनले अनुगमन समितिबाट प्रतिवेदन आएपछि २०७९ साल असार २५ गते उपभोक्ता समितिको खातामा जम्मा हुने गरी ८ लाख रुपैयाँ भुक्तानी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले उपाध्यक्षले हस्ताक्षर आफ्नो नभएको भनेर छानबिन हुनुपर्ने बताए । उपाध्यक्षको हस्ताक्षर जस्तै देखीएकाले हो कि होइन भनेर छानबिनपछि मात्रै सो बिषयको बास्तबिकता बाहिर आउने उनको भनाई छ ।