धनगढी। नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी पूर्वी नेपाल पुगेका छन्।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन्। बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले शुक्रबार कोशी प्रदेश पुगेर त्यस जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन्।
उद्योगी व्यवसायीहरुलाई शनिबार भेट गर्दै अध्यक्ष द्वयले सुदूरपश्चिम र सुदूरपूर्वलाई जोडने उद्देश्यसहित चुनावलाई पनि मध्येनजर गर्दै आफूहरु पूर्वसम्म पुगेको बताए। सुदूरपूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढन तयार रहेको धारणा राखे। भेटका क्रममा त्यहाँका उद्योगी व्यवसायीहरुले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाए। महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।साना तथा मझौला उद्योगी व्यवसायीहरुको समस्यालाई उजागर गर्दै समाधानका लागि अग्रसर रहँदै आएका कुँवर र जोशीले सुदूरपश्चिमका व्यवसायीहरुलाई एक ठिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।