चितवन। चितवनको क्रिकेट रंगशालाको समस्या समाधान हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए।
झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणाधीन छ। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ। रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन।