बैतडी। बैतडीको निङ्गलाशैनी मन्दिरमा साढे ७ सय राँगा र बोकाको बलि दिइएको छ। बैतडीको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा राँगा तथा बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो। मंगलबार देखि सुरु भएको जात्रा चैतेदशैंका दिन बुधबार राँगा र बोकाको बलिसहित समापन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ।
जात्रामा २ सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गर्दछ। दशैंको बेला महाष्टमीका दिन,चैतेदशैं,अनन्त चतुर्दशी र धान्य पूर्णिमाको दिनमा पनि मन्दिरमा जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।