डोटी। खुटिया–बिपीनगर–दिपायल–चैनपुर–उरै भञ्ज्याङ द्रूतमार्गको काम फेरिसुचारु हुने भएको छ। चालु आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेपछि निर्माण कार्य रोकिएको उक्त सडकको लागी बजेट निकासा हुने भएपछि काम सुरु हुने भएको हो।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ साल जेठ १५ गते संसदमा गरेको बजेट भाषणमा नपरेपछि मंसिरदेखि निर्माण कम्पनीहरुले सडक निर्माणको काम ठप्प पारेका थिए। फागुन २३ गते सरकारले सडक निर्माणका लागि १५ करोड रुपैयाँको निकासा दिएपछि निर्माण कार्य सुचारु हुने भएको हो। सडक आयोजना कार्यालय बिपीनगरका ईन्जिनियर दिनेश रैखोलाले १५ करोड रुपैयाँ रकम बिनियोजन भएको पुष्टि गरे । उनले वजेटको व्यवस्था भएकोले एक साताभित्रै काम सुचारु हुने बताए । ७८ करोड बरावरको ठेक्का भई काम भइरहेको थियो, चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा ठेकेदारहरुले काम रोकेका थिए।
उनले १५ करोड रुपैयाँ वजेट अपर्याप्त भएको भएपनि हाललाई काम पुनः सञ्चालन हुने आधार वनेको वताए । उनले कात्तिकसम्म काम गरेका ठेकेदारहरुको भुक्तानी दिनुपर्ने करीव १८ करोड हुने भएकाले सो रकम नपुगेपनी काम सुचारु हुने बताए । सबै ठेकेदारहरुलाई अलिअलि भुक्तानी दिएर भएपनि काम अगाडि बढ्ने रैखोलाले बताए । कार्यालयले औपचारिक रुपमा ठेकेदारहरुलाई पत्राचार गरि काम सुचारु गराउने प्रक्रिया अगाडि बढाएको र सरकारले यसै आर्थिक बर्षमा थप वजेटको व्यवस्था गर्दा अझ राम्रो हुने र यस आर्थिक बर्षमा थप रकम नआएपनि आगामी आर्थिक बर्षमा बजेट बिनियोजन हुने उनले बिश्वास गरेका छन्।
रकम निकास भएपछि निर्माण व्यवसायीहरु पनि उत्साही भएका छन्। सो सडकको दिपायल–मौवा खण्ड कालोपत्रेको ठेक्का लिएका दुनिला कन्ट्रक्सनका सञ्चालक ललित बोहराले रकम आएको खवर पाएको भन्दै फेरिकाम सुचारु हुने बताए । असारभित्रै दिपायल एयरपोर्टदेखि ९ किलोमिटर सडक कालोपत्रे हुने बताए। यसअघि डोटी चेम्वर अफ कमर्शले आयोजना गरेको प्रादेशिक महोत्वसको उद्घाटन गर्न फागुन ४ गते हेलिकप्टरमार्फत डोटी पुगेका उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले उक्त सडक निर्माणमा बजेटको कमी हुन नदिने वताएका थिए । उक्त सडक निर्माण कार्य सरकारले प्राथमिकतामा राख्ने उनले बताएका थिए।