डोटी। डोटीको दिपायलस्थीत एक होटलमा आगलागी भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका- ४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा शुक्रबार साँझ ७ बजे आगलागी भएको हो । भान्सामा चाउमिन पकाउने क्रममा ग्यास लिक भएपछि आगो फैलिएको स्थानीय भनाई छ।
मनकामना होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ। होटलसँगैको गिताञ्जली सुनचाँदी पसलमा पनि आगो सल्केको थियो। समयमै आगो निभाउन स्थानीय खटिएपछि थप क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ। आगलागीबाट होटलको काउन्टर, भान्सामा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले बताए।स्थानीय एवं प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।
होटलको पक्की भवनअगाडि टिनले जोडेर बनाइएको भान्सा र काउन्टरमा क्षति पुगेको बताइएको छ। क्षतिको पुर्ण विवरण भने आइसकेको छैन्। ६:३० बजे लागेको आगो ७ :१० बजे नियन्त्रणमा आएको थियो।यसैबिच स्थानीयले आगो नियन्त्रणमा आइसकेपछि दमकल घटना स्थलमा पुगेको भन्दै दिपायल सिलगढी नगरपालिकाको दमकल तोडफोडको प्रयास गरेका हुन्। आक्रोशित स्थानीयले तोडफोडको प्रयास गरेपछि प्रहरीको सुरक्षामा दमकल सिलगढी फिर्ता पठाइएको थियो। आगलागी भएको बेला दमकल नगरपालिकाको कार्यालय सिलगढीमै रहेको थियो।