बैतडी। बैतडी दशरथचन्द नगरपालिका १० खडेनीका जिवन बुडालको हत्या गरिएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । साथिहरुसंग पिकनिक मनाउन गएका बुडाल फागुन १३ गतेदोगडाकेदार ४ जाडाबगर चमेलिया नदि किनारमा मृत फेला परेका थिए। बुडालको शव १० दिनदेखि जिल्ला अस्पताल बैतडीमा रहेकामा मृतक बुडालका आफन्तले सत्यतथ्यको छानबिनको माग गर्दै अहिलेसम्म शव नउठाएका हुन् ।
राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथिहरूसंग पिकनिक मनाउन गएका थिए। जीवन बुडालको हत्याको आशंका गर्दै परिवारजनले १२ जनाकै नाममा किटानी जाहेरी दिएको थियो।घटना संकास्पद रहेको भन्दै संगै पिकनिक मनाउन गएका १२ जनालाइ प्रहरिले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। बुडालको मृत्युको कारण पत्ता लगाउन सिआइबीको टोली बैतडी पुगेको छ। प्रहरी नियन्त्रणमा रहेका १२ जनामाथि ७ दिनको म्याद थपेर अनुसन्धान चलाइरहेको प्रहरीले फेरि १२ दिनको लागि म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले बुडाल मृत्यु प्रकरणमा पाँच दिन देखी प्रदेश मातहतको सिआईबीको टोलिले पनि बैतडीमा आएर अनुसन्धान गरिरहेको बताए। प्रहरी प्रबक्ता जोशीले मृतक बुडालकी पत्नीले ज्यान सम्बन्धि कसुरमा १२ जनाविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान अघि बढेको बताए। उनले पिकनिक मनाउनसँगै गएकाहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भैराखेको बताए। उनका अनुसार बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहार छन्। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको र ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको उनले बताए।
बुडाल साथी र इष्टमित्रहरुसँग शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक खान भन्दै सेरा हुँदै जाडाबगड पुगेका थिए। सेरासम्म म १ ज २२२ नम्बरको जिपमा गएको उक्त टोली त्यहाँबाट पैदलै जाडाबगरस्थित चौलानी किनार पुगेको थियो। जाडाबगर एकान्त र सुनसान स्थल भएकाले पिकनिकका लागि धेरैले यो गन्तब्य रोज्ने गरेका छन्। माछा मार्दै पिकनिकमा रमाइलो गर्ने उद्धेश्यले बुडालसहितका १२ जना त्यहाँ पुगेका थिए।चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए। पानी कम भएकै ठाउँमा बुडाल मृत फेला परेकाले घटना रहस्यमय हुन सक्ने भन्दै परिवारले सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेका छन ।