धनगढी। आज देखी हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु हुने भएको छ। हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म सञ्चालन गर्न लागेको हो। हात्तीपाइले रोगविरुद्ध औषधी सेवन कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो। जसअनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ। यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।नेपालमा अझै पनि हात्तीपाइले रोग आम समस्याका रूपमा छ। नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो। तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ।