कञ्चनपुर। कञ्चनपुरमा शिलान्यास गरिएका १५ शय्याका आधारभूत अस्पताल निर्माण कार्यमा ढिलाई भएको छ। शिलान्यास गरिएको ३९ महिना बितिसक्दा पनि कञ्चनपुरका पालिकामा रहेका १५ शय्याका अस्पताल निर्माणकार्य सम्पन्न भएका छैनन्। अस्पताल निर्माण कार्य कछुवाको गतिमा अघि बढेको स्थानियले बताएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ मंसिर १७ गते देशैभरका तीन सय ९७ पालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउन भर्चुअल माध्यमबाट एकसाथ शिलान्यास गरेका थिए। जिल्लाको भीमदत्त नगरपालिकाबाहेक अन्य आठ स्थानिय तहमा शिलान्यास गरिएका अस्पताल निर्माणको कार्य पूरा नभएको हो। केही स्थानिय तहमा त निर्माणकार्य सुरुसमेत नभएको पाइएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ त्रिभुवन बस्तीमा शिलान्यास गरिएको अस्पताल फाउन्डेसनमै सीमित बनेको छ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले १५ शय्याको सो अस्पताल ठेकेदारले जग मात्रै निर्माण गरेकाले बाँकी काम अघि नबढाएको बताए। बेदकोट नगरपालिकामा बल्ल काम सुरु भएको वडा नं. ३ का अध्यक्ष मोहन गुरुधार्मीले बताए। उनले एक एक हप्ता देखि काम सुरु भएको बताउँदै अहिले साइट लिने काम भैरहेको बताए। उनले केही ढिलाई भएकाले अर्कोहप्ता देखि ठेकेदारले निरन्तर काम गर्ने बताए। कञ्चनपुरमा अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ वैशाख ०७८ मा नौ करोड ७४ लाख लागतमा सम्झौता गरेको थियो । तर, सम्झौता गरेको डेढ वर्षपछि मात्र निर्माणकार्य अघि बढाउने तयारी गरेको बताइएको छ ।
कृष्णपुर नगरपालिकामा ५ र ८ नम्बर वडामा १५ शय्याको एक–एकवटा अस्पताल बनाउने निर्णय भएको थियो । वडा नम्बर ५ गुलरिया र वडा नम्बर ८ रैकवारविचुवामा अस्पताल निर्माण गर्ने निर्णय भएको थियो । कृष्णपुरमा ६ जेठ ०७८ मा सम्झौता भई २०८० जेठ ६ गते सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवाले जिम्मा पाएको थियो । विचुवामा आठ करोड ३६ लाख र गुलरियामा ६ करोड ५९ रुपैयाँमा निर्णण गर्ने सम्झौता भएको थियो । यस्तै बेलडाँडी गाउँपालिकामा चालू आर्थिक वर्ष ०७९–०८० माघ दोस्रो सातादेखि निर्माण कार्य सुरु भएको छ । बेलडाँडीमा अघिल्लो स्थानीय सरकारले अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया नबढाएपछि गत वैशाखमा आएको नयाँ स्थानीय सरकारले ठेक्का खोलेर काम सुरु गरेको छ।
बेलडाँडीका प्रमुख हरिशचन्द्र रानाले गत आर्थिक वर्षमा ठेक्का आह्वान गरेर अस्पताल निर्माणकार्य अघि बढाइएको बताए। बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार रुपैयाँबराबर लागतमा ६ मंसिर २०८१ मा निर्माण सम्पन्न गर्ने गरी ६ मंसिर ०७९ मा सम्झौता गरेको बताएका छन्। कृष्णपुर नगरका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले सुरुवाती चरणमा दुई स्थानमा १५–१५ शय्याको अस्पतालको योजना गरे पनि पछि मन्त्रालयबाट एक पालिकामा एक मात्रै निर्माण गर्ने निर्णय गरेपछि ढिलाइ भएको बताए। निर्माण कम्पनी र पालिकाबीच त्यतिवेला सम्झौता भएपनी निर्माण नभएको उनले बताएका छन्। बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर चन्दले २० प्रतिशत भवन निर्माणकार्य सकिएको बताए। दोधाराचाँदनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले ४५ प्रतिशत काम भएको बताउँदै पहिलो तला निर्माण सकिएको जानकारी दिएका छन्। कञ्चनपुरको शुक्लाफाँटा स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले पहिलो तला निर्माण भएको जानकारी दिएका छन् । लालझाडी गाउँपालिकामा निर्माण सुरु भएको १५ शय्याको अस्पताल पहिलो तला ढलान भएको बताइएको छ। जस्ले गर्दा कञ्चनपुरमा शिलन्यास गरिएका १५ शैय्याका अस्पताल निर्माणकार्यमा ढिलाई भएको छ। केही अस्पतालको निर्माणकार्य सुरु भएपनी समयमै निर्माण कार्य पुरा नहुने अवस्था रहेको छ।