धनगढी। धनगढीको एसटीएस सिनेमा घरमा भोलि समलिङ्गीको कथामा आधारित चलचित्र प्रदर्शन गरिने भएको छ । पहिलो संविधान सभा सदस्य समेत रहेका सुनिल बाबु पन्तको निर्देशन तथा उहाँकै व्यक्तिगत लगानीमा निर्माण भएको नीलो फूल लघु चलचित्र निःशुल्क प्रदर्शन गरिने भएको हो।
भोलि दिउसो १ः३० बजे चलचित्र प्रदर्शन हुने निल हीरा समाज अर्थात् ब्लुडाइमण्ड सोसाइटीले जानकारी दिएको छ। निर्देशक पन्तले यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्षका बारेमा लघु चलचित्र निर्माण गरिएको बताए। चलचित्रमा गाउँको समलिङ्गी पात्रको कथा समेटिएको पन्तले बताए। उसलाई जबरजस्ती महिलासंग बिहे गर्न लगाएर सन्तान प्राप्ति नहुँदा भोग्नुपरेको सङ्घर्ष कथामा समेटिएको पन्तको भनाई छ।
राज्यले समेत यौनिक अल्पसङ्ख्यकका समस्या सम्बोधनमा चासो नदिएको भन्दै आफूहरूका समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउन चलचित्रले भूमिका खेल्ने ब्लु डाइमण्ड सोसाइटीले विश्वास लिएको छ। यो लघु चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, विराटनगर र बुटवलमा प्रदर्शन भइसकेको छ। चलचित्रमा सागर घिमिरे, उर्मीला कार्की, घनश्याम जोशी, विमला गिरीलगायतका कलाकारको भूमिका रहेको छ । सामाजिक मुद्दाको नयाँ विषय हुनाले सबैलाई चासोको विषय बनेको निर्देशक पन्तले बताए ।