काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । पेरिसडाँडामा पदाधिकारी बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र नेपालबीच माओवादी संसदीय दलको कार्यालयमा भेट भएको हो।
गण्डकी प्रदेश कमिटीको बैठकमा पोखराबाट आउनासाथ प्रचण्डले नेपाललाई भेटेका हुन् । माओवादीले आजको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्दैछ ।यसअघि आइतबार साँझ सभापति शेरबहादुर देउवासहितका कांग्रेसका शीर्ष नेताले प्रचण्डलाई भेटेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकमा छलफल गरेर निर्णय लिने आश्वासन दिएका छन्। प्रचण्ड र कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान राखिरहेका छन् । पुस १० मा भएको सहमतिबाट पछि हट्ने संकेत देखाएको भन्दै प्रचण्डसँग एमाले सशंकित छ । यसले सत्तागठबन्धनको भविष्यसमेत अन्यौल बनेको छ ।