दार्चुला। दार्चुलामा कच्ची सडकका कारण स्थानिय जोखिमपूर्ण यात्रा गर्न थालेका छन्। महाकाली राजमार्गबाहेक जिल्लाका अन्य सबै सडकहरू कच्ची रहेकोले स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य हुन्। स्थानीय तह र प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सडक निर्माण गरिएपनि भिरालो र खाल्डाखुल्डीले जोखिम बढाएको स्थानियहरुले बताएका छन्।
दार्चुलामा प्राविधिक मापदण्ड पूरा नगरी ग्रामिण सडक खोलिएका छन्। प्राविधिकको सल्लाह नलिई डोजर चालकले सडकको ट्र्याक खोलेका कारण अधिकांश ग्रामीण सडकहरू उकालो र ओरालो यात्रामा जोखिम मोल्नुपरेको स्थानीय बताएका हुन्। दार्चुलामा निर्माणाधीन दार्चुला–टिंकर सडकबाट अन्य सबैजसो निर्माण भइरहेका सडक स्थानीय तह र प्रदेश सरकारबाट सञ्चालनमा रहेका छन्। दार्चुला नौगाड गाउँपालिका–२ राकेश ठगुन्नाले यातायात व्यवसायीले आम्दानीको आशमा जोखिममै सवारी चलाउने गरेको बताए। जोखिम अवस्थामा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको बताए।
सिंगल लेन र कच्ची सडकमा यातायातका सवारीसाधान सडक पास गर्न समस्या हुने गरेको उनले बताए। ग्रामीण भेगमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भए पनि व्यवसायीले गाडी चलाउने र यात्रुहरूले पनि जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् । दार्चुलास्थीत गोकुलेश्वर–लटिनाथ, गोकुलेश्वर–धुलिगडा, खलंगा–दल्लेक, बेत–जौलजिवी, दल्लेक–होपरिगाड, बिटुले–पारिबगड, टिंकर सडकलगायतका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था स्थानियको रहेको छ।
नौगाड गाउँपालिका–३ का रघुवीरसिंह ठगुन्नाले बर्खा हिउँद र सुक्खा मौसममा पनि असुरक्षित यात्रा भैरहेको बताए। खाल्डाखुल्डीका कारण यात्रुहरूको यात्रा असुरक्षित बनेको बताए।उनले बर्खामा सबैजसो ग्रामीण सडक बन्द नै हुने गरेको बताए। उनले सडक निर्माण सुरु गरेको दशक बढी समय भए पनि ग्राभेल हुन नसकेको बताए। मापदण्ड पूरा नगरी डोजरले खनिएका सडकका कारण यात्रुहरू सुखको सट्टा बर्खामा दुःख दिने काम हुने गरेको स्थानीयको भनाई छ । केही सडकमा ‘रोड परमिट’ बिना जिप तथा ट्र्याक्टर चलिरहेका छन् । कच्ची सडकमा ट्याक्टर आवतजावतका कारण खाल्डाखुल्डी बनेपछि यात्रु तथा गाडी चालकलाई पनि समस्या भएको सवारी चालकहरुले बताएका छन् ।