दार्चुला। महाकाली नदीमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुलको उद्घाटन गरिएको छ। नेपाल सरकारले व्यास गाउँपालिकामा निर्माण गरेको दुई झोलुंगे पुलको नेपाल भारतका अधिकारीले बिहीबार उद्घाटन गरेका हुन् ।
सीमा पुलको उद्घाटन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले संयुक्त रुपमा गरेका थिए । नेपाल सरकारले मलघट्टेमा १ सय २० मिटर लामो र मालघाटमा १ सय ४० मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।
व्यास गाउँपालिका २ मालगाउँ र वडा नम्बर ४ मलघट्टे क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि बिहीबारबाट सञ्चालनमा ल्याएका छन् । अब औपचारिक रुपमा पुल उद्घाटन गरी नियमित सञ्चालनमा आएपछि स्थानीयको नेपाल–भारत आवतजावतमा सहजता आएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए। गत साता बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो ।