कञ्चनपुर। कञ्चनपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यक्रमस्थल नजिकैबाट प्रहरीले १३ जनालाई पक्राउ गरेका हो । महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्ट सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले समातेको हो।पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरी आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए।
उनले कार्यक्रम सकेर अबिर लगाइरहेका बेला प्रहरीले धरपकड गरेको बताए। प्रहरीले समातेपछि उनीहरुले ‘वीर सहिदहरु लाल सलाम, प्रहरी हस्तक्षेप बन्द’ भन्दै प्रधानमन्त्री दाहालको विरोधमा नारा लगाएका छन्।प्रधानमन्त्री दाहाल बसपार्कको बाटो भएर दोधारा चाँदनी सुख्खा बन्दरगाहको निरीक्षणका लागि गएका छन्। उनी यस पछि बसपार्क नजिकै रहेको खुलामञ्चमा हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दोधारा चाँदनीबाट प्रधानमन्त्री दाहाल सोही रुट भएर फर्किने छन्।
यसअघि आजै धनगढी विमानस्थल पुगेर गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीको निरीक्षण गरेका छन्। त्यसपछि प्रधानमन्त्री कञ्चनपुरकोे महेन्द्रनगर प्रस्थान गरेका थिए । महेन्द्रनगरमा जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन,महोत्सवमा उट्घाटन र आयोजनाहरुको निरीक्षणपछि धनगढी फिर्ता भएर आजै काठमाडौँ फर्किने प्रधानमन्त्रीको तयारी रहेको छ। प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।