धनगढी। प्रहरीले डाक्टर कुटेको विरोधमा आज आइतबार सुदूरपश्चिमसहित देशभरका अस्पताल र स्वास्थ्य संस्थाका ओपीडी सेवा बन्द गरिएका छन्। नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथ लाल सिंहमाथि प्रहरीले कुटपिट गरेको विरोधमा आज सुदूरपश्चिमका सरकारी अस्पतालमा ओपीडी सेवा बन्द गरिएका हुन्।
सेती प्रादेशिक अस्पताल तथा नवजिवन अस्पताल धनगढीमा कार्यरत डाक्टर निरज अर्यालले चिकित्सक संघले एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिमसहित देशभरका सरकारी र निजी अस्पतालका ओपीडी सेवा बन्द गरिएको जानकारी दिए। उनले अत्यावश्यक बाहेकका सेवा बन्द भएको बताए। चिकित्सकहरुको बिरोधका कारण सरकारी अस्पतालहरुमा आकस्मिक सेवा मात्र सञ्चालनमा रहेको छ। देशव्यापी रुपमा बिरोधमा उत्रिएको चिकित्सकले दोषीमाथि कारबाही र चिकित्सकहरुको सुरक्षाको माग गर्दै बहिरंग सेवा बन्द गरेको नेपाल चिकित्सक संघ सुदूर पश्चिम शाखाका अध्यक्ष डाक्टर प्रदिप मिश्रले बताए।संघका अध्यक्ष मिश्रले बिज्ञप्ति जारी गर्दै डाक्टर सिंहमाथि भएको आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान भएको चिकित्सकहरुको भेलाले डाक्टर सिंहमाथि कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको मागका लागि संघले गरेको बिरोधका कार्यक्रममा एक्येबद्धता जनाएका छन्। डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो।
राष्ट्रपतिको सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको चिकित्सक संघले जनाएको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ ।सरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ । यस कदमबाट नागरिकलाई पर्न गरेको अप्ठेरोप्रति क्षमा माग्दै चिकित्सक संघले यो अवस्थाको जिम्मेवार सरकार नै भएको पनि दाबी गरेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला बाटोमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई कुटेको थियो ।