धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह नियुक्त भएका छन् । नेपाली काग्रेंस सुदूरपश्चिम प्रदेश संसदिय दलको नेता रहेका शाह आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा उमाले संसदिय दलका नेता राजेन्द्र सिहं रावलले प्रदेशसभामा बिश्वासको मत नपाएपछि आजै राजिनामा गरेका थिए । उनको राजिनामा आएसंगै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठुलो दलका हिसाबले काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बनेका हुन । मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् । जसले गर्दा उनको सरकारले पूर्णता नपाउँदै ३० दिनमा ढलेको छ । ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद छन् ।
यस्तै, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नेकपा एमाले १० र राप्रपाका १ सांसद छन् । भने नागरिक उन्मुक्तिका ७ सांसद रहेका छन्।