डोटी। डोटीमा राजमार्ग स्तरोन्नति गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको पाइएको छ। डोटीको शिखर नगरपालिका–८, गोपघाट तिलताली र वडा नम्बर १० बानेडुंग्रिसैन क्षेत्रमा राजमार्ग स्तरोन्नति गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको स्थानियले बताएका छन्।
मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्यअन्तर्गत ४ करोड ६२ लाख ७४ हजार रुपियाँको ठेक्का अलपत्र पारेर निर्माण कम्पनी फरार भएको हो। २०७९ वैशाख ३० गतेभित्र काम पूरा गरिसक्ने गरेर सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि कैलालीबीच ठेक्का सम्झौता भएको थियो। कम्पनीले सम्झौता मितिभित्र काम नगरेपछि २०७९ वैशाख ३१ गते सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि म्याद थप ग(यो। म्याद थप भएको नौ महिना बित्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन।
निर्माणका नाममा कम्पनीले उल्टै राजमार्ग भत्काएर फरार भएको स्थानीयको गुनासो छ। स्थानीय खगेन्द्र रोकायाका अनुसार राजमार्ग चौडा गर्ने भन्दै डिभिजन सडक कार्यालयले सडक छेउछाउको जमिन खाली गर्न स्थानीयलाई आग्रह गरेको थियो। बजार क्षेत्रमा सडकको दायाँबायाँ भत्काएर होचो गर्ने काम भयो। त्यसपछि भने निर्माण कम्पनी साइडमा फर्केको छैन। निर्माण कम्पनीले पुरानो सडकको दायाँ बायाँ भत्काएपछि झन् साँगुरो बनेको छ। सडक चौडा गर्ने भन्दै निर्माण कम्पनीले पुरानो कलोपत्रे भत्काएको दुई वर्ष हुँनै लाग्यो। स्थानीय दीर्घ धामीले पाँच मिटर चौडाइ भएको पुरानो सडक हाल अढाई मिटरमा सीमित रहेको बताए। दुवैतिर भएको पुरानो कालोपत्रे समेत भत्काएर सडक बिगारेको छ। योभन्दा त पहिलाकै सडक ठीक रहेको उनले बताए।
सो राजमार्ग भएर दैनिक सयौँ सवारी सञ्चालन हुने गरेका छन्। निर्माणका नाममा सडक भत्काएर अलपत्र पारेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय कर्ण बलायरले बताए। उनले कि त यो सडक भत्काउनु नहुने, भत्काइसकेपछि बनाएर छोड्नुपर्ने बताए । सडक सुधार गर्छु भनेर आएका उल्टै भत्काएर गए, सडक जोखिम मात्रै बढेको उनको भनाई छ। सवारीचालकलाई पनि सो राजमार्ग क्षेत्रमा सवारी साधन हाँक्न धेरै समस्या हुने गरेको धनगढी–सिलगढी रुटमा चल्ने माइक्रो बसका चालक खडकबहादुर लामाले बताए। उनका अनुसार समथर सडक भएका कारण तीव्र गतिमा गाडी चलिरहेका हुन्छन्। अगाडिबाट अर्को गाडी आयो वा पदैल यात्रुले अचानक बाटो काट्यो भने साइड दिन गाडी सडकबाट तल झार्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा दुर्घटना हुने निकै जोखिम रहेको उनले बताए।
सडक डिभिजन कुलपातेमा म्याद सकिएको भोलिपल्ट नै ठेक्का सम्झौताको म्याद थप्न उपस्थित निर्माण व्यवसायी अहिले सम्पर्कमा नरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। म्याद थप भएदेखि निर्माण व्यवसायी आफ्नो सम्पर्कमा नरहेको सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर रामचन्द्र जैसीले जानकारी दिए। स्थानियहरुले पटक पटक चाँडो काम गर्न ताकेता गर्दै आएको उनले बताए। म्याद थप भएदेखि फोन गर्दा पनि सम्पर्कमा आउनुहुन्न, सम्पर्कमा आइहाले तुरुन्तै काम सुरु गर्छु मात्र भन्नुहुन्छ, काम गर्नु हुन्न उनले भने। उहाँका अनुसार सो सडकको कालोपत्रेको काम २० प्रतिशत भौतिक र १३ प्रतिशत वित्तीय प्रगति मात्रै भएको छ।कम्पनीका सञ्चालक टेकबहादुर सेठीले सो साइडको काम आशबहादुर गुरुङलाई दिएको बताए। कम्पनीका तर्फबाट सम्पर्क व्यक्ति, ठेक्का सम्झौता गर्ने, काम गर्ने सबै जिम्मा उनकै हो। काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक साताभित्रै काम सुरु हुने उनले बताए।गोरखापत्रबाट