कञ्चनपुर। जग्गा विवादका कारण रोकिएको मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ। यसअघि कागजातबिना मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकामा सरसफाई गरेको भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हस्तक्षेप गरेको थियो । अहिले जग्गा प्राप्तिको प्रक्रियासँगै निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने मौखिक सहमति जनाएपछि निर्माण पुनः सुरु हुने भएको हो ।
औपचारिक रूपमा जग्गा प्राप्त नभए पनि मौखिक सहमतिका आधारमा निर्माण अघि बढाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । विमानस्थलको दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदान रहेको जमिनको भोगाधिकार नपाउँदा निर्माण रोकिएको थियो । विगतमा निर्माण चलिरहेकै बेला निकुञ्ज प्रशासनले निर्माण कम्पनीका ६ जना कामदारसहित उपकरण नियन्त्रणमा मुद्दा चलाएपछि गत चैत १७ गतेदेखि काम रोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलले निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको छ । उक्त सहमतिपछि निर्माण कम्पनी कान्छाराम-केएस-उमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो । यसअघि पनि स्थानीय र जनप्रतिनिधिले विमानस्थल निर्माण पुनः सुरु गर्न पटकपटक मौखिक सहमति जनाइसकेका छन्। सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउदै बन्द भएको मझगाउँ विमानस्थल पुनः संचालनका लागि ४५ लाख रुपैयाँमा सम्झौता भएको हो।
उनले कामदारदेखि निर्माणका उपकरण सबै तयार भइरहेकाले अब काम सुरु हुने बताए । निर्माण कम्पनी कान्छारामरकेएस जेभीका इन्जिनियर जितेन्द्रकुमार यादवले रनवेमा माटो भर्ने काम नसकिएको साइड क्लियर पनि पूरा नभएको बताए ।असारसम्म केही मात्रामा माटो भर्ने र साइड क्लियर पार्ने काम भएको छ । रत्नवाटिका क्षेत्रमा रहेका बुट्यान र रूख हटाउने क्रममै निकुञ्जले अवरोध गरेको थियो । विमानस्थल निर्माणका लागि ०७८ कात्तिकमा ४५ करोड ६६ लाखमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । अहिले मझगाउँ विमानस्थलको लम्बाइ १ हजार मिटर छ । रत्नवाटिका र सेनाले भोगचलन गरिरहेको जमिन प्राप्त भएपछि यसको लम्बाइ १५ सय २५ मिटर पुग्छ ।