धनगढी। कैलालीमा वृद्धभत्ताको रकम नदिएको भन्दै बन्चरो प्रहार गरि आमाको हत्या गरिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार थारुले सोमबार राति पौने १२ बजे ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको र थप उपचारका धनगढीस्थीत नवजीवन अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय केलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्।
साथै घटनापछि फरार रहेका थारुलाई आज बिहान ८ बजे जंगलबाट इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन्।