बैतडी। बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथि रुख ढलेपछि शनिबारदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको छ। सेवा सुचारु गर्न कैलालीबाट प्राविधिक बैतडी पुगेका थिए । प्राविधिक टोलीले समस्या पत्ता लगाइ मर्मत गरेपछि आइतबार दिउँसोबाट सञ्चार सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख बिक्रम राम टमाटाले बताए।
उनले स्थानीयवासीले रुख काटेका कारण ३० मिटर लाइन नै परिवर्तन गर्नुपरेको बताए। जिल्लाको पाटन नगरपालिका–६ को पोखरी नजिकै स्थानीयले सल्लाको रुख ढालेपछि फाइबर तार चुँडिएका थियो । पाटनमा फाइबर तार चुँडिएपछि बैतडी र दार्चुलाको फोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको टमाटाले जानकारी दिए ।
टेलिकम कार्यालय बैतडीका प्रमुख टमाटाले पाटनमा सल्लाको रुख ढालिदिएको र फाइबर तार चुडिएपछि सेवा प्रभावित बनेको बताए । अत्तरियाबाट प्राविधिक टोली आएर मर्मत गरेको उनले भने। फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सूचना आदान प्रदान गर्न समस्या भएको थियो भने सञ्चारमाध्यमहरुलाई खबर सम्प्रेशण गर्न समस्या भएको थियो ।शनिबारदेखि अबरुद्ध फोन र इन्टरनेट सेवा आइतबार दिउँसोदेखि सुचारु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन्।