काठमाडौँ। मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो । फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइड नोट लेखेर इलाम पञ्चकन्या–६ का ३६ वर्षीय आचार्यले मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै प्रहरीले उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यले फेसबुकमा आफू उद्योगीरव्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन् । पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गरेका छन् । आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत खुलाएका छन् ।