काठमाडौं। सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो ।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा घिमिरेले सभामुखको रुपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका हुन् ।‘सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासबाट म निर्वाचित भएको छु, सभामुखको भूमिकामा राम्रो भूमिका निभाउनेछु,’ उनले भने, ‘त्यहीअनुसार योजनाहरू बनाएर काम गर्नेछु । निष्पक्ष र तटस्थ भूमिकामा मेरो बोली र व्यवहार देख्नुहुनेछ ।’उनले विगतमा सभामुखहरूले गरेका कमजोरीहरूबाट शिक्षा लिएर अघि बढ्ने बताए । ‘यो दलीय व्यवस्था हो । दलहरूसँग छलफल गरेर, समन्वय गरेर नै अघि जाने हो,’ उनले भने ।उनले प्रतिनिधिसभा संचालन गर्दा कसैलाई पनि दलीय आधारमा भेद्भाव नगर्ने बताए ।