काठमाडौँ। नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि उनले निर्वाचनमा उम्मेदवार बन्दा कोही पनि हार्छु भनेर नआउने बताइन्। उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन्।
आफ्नो लागि जित्ने आधारहरू भनेकै प्रतिनिधिसभाका सदस्यहरू भएको न्यौपानेको भनाइ थियो। उनले निर्वाचन अघिसम्म आफू कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताइन्। उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रहेर सांसद र संसद्प्रति न्याय गर्ने बताइन् । संसद्लाई सभामुखको आवश्यकता पर्दछ। त्यो सभामुख निर्वाचनमार्फत हुन्छ। त्यही प्रक्रियाअनुसार मैले उम्मेदवारी दिएकी हुँ। निर्वाचनमा हारजित हुन्छ।
निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन। म यो निर्वाचनमा पक्कै जित्छु, उनले भनिन्, मेरो जित्ने आधारहरू सांसदको मत हो। निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो। सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थरुपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु ।’उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन्। न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ।