सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको समूह ‘ए’ को खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
६१ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले ११ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले अविजित ४६ रन बनाइन् । त्यस्तै, शोभा रोकायले ८ र यशोदा विष्टले दुई रन बनाए । बलिङतर्फ गण्डकीकी निरुता जिटीले एक विकेट लिइन् ।
इटहरीको जनता पार्कमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६० रन मात्रै बनाएको थियो । गण्डकीकी सिमना केसीले मात्रै दोहोरो अंक बनाइन् । उनले १३ रन बनाइ्न । गण्डकीका ९ जना ब्याटरले दोहोरो अंक पनि बनाउन नसकी आउट भए । सुदूरपश्चिमकी मनिषा चौधरीले चार विकेट लिइन् । सुदूरपश्चिमको यो दोस्रो जित हो । यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ३३ रनले पराजित गरेको थियो । यता, गण्डकी प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि गण्डकी प्रदेश एपीएफसँग ७ विकेटले पराजित भएको थियो ।