डोटी। दिपायल विमानस्थलको स्तरोन्नति भइ कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि हवाई उडानले निरन्तरता पाउन सकेको छैन । जहाज सञ्चालन बन्द भएपछि यहाँका नागरिकलाई समस्या भएको छ । जहाज सञ्चालन बन्द भएपछि बिरामीलाई अस्पताल पुर्याउन बढी समस्या भएको स्थानीयले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निर्माण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि एक वर्ष म्याद थप भइ २०७७ सालमा काम सम्पन्न भएको थियो ।
२०७७ साल असोज १७ गते समिट एअरलाइन्सले उडान परीक्षण गरेको थियो । उडान परीक्षण पश्चात् केही समय समिट एअरले निरन्तरता दिएको थियो । समिट एअरले निरन्तरता दिन नसकेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी दिपायल नेपाल वायुसेवा निगमको जहाजमार्फत् उडान सुरु गराए।सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको वायुसेवाले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा कहिले दुई पटक त कहिले एक पटक जहाज उडाउँदै थियो । तर करिब पाँच महिनायता उडान पूर्ण रुपमा बन्द भएको छ।
कैलालीको धनगढीदेखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो त्यस पश्चात् अहिलेसम्म उडान पूर्ण रूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ। विमानस्थलको स्तरोन्नति भएको केही समयसम्म कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पनि पूर्ण रूपमा बन्द भएको छु स्थानीयवासी भरत द्धारियाले बताउनुभयो। उनले भने, ‘दिपायल विमानस्थल सञ्चालन भएपछि बीचमा लामो समयसम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बीचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो। फेरि यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिँदैन।’
नेपाल वायुेवा निगमले भने विमान अभावका कारण डोटी उडान भर्न नसकेको बताउँदै आएको छ। १८ सिट क्षमता भएको नेपाल वायुसेवाको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो। दिपायल विमानस्थलमा लामो समयदेखि जहाज नआए पनि विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको टर्मिनल भवन र टावर निर्माण गर्न ५ करोड ९ लाख बजेट विनियोजन गरिएको थियो। गएको असारदेखि निर्माण कार्य सुरु भइ २०८०साल मङ्सिरमा सम्पन्न गर्ने गरी टीडीआर कन्स्ट्रक्सन निर्माण कम्पनी धनगढीसँग सम्झौता भइ निर्माण कार्य सुरु भएको हो । यतिमात्र नभइ अहिले यो विमानस्थल कार्यालयसमेत प्रमुखविहीन भएको छ । विमानस्थलका प्रमुख विजय पटेल यही पुस ४ गते अछाम जिल्ला विमानस्थलमा सरुवा भएसँगै विमानस्थल कार्यालय प्रमुखविहीन भएको हो। उज्यालो अनलाईनबाट