डडेल्धुरा। डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर शव शनिबार खाल्टोमा पुरिएको अवस्थामा शव फेला परेको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ। मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। प्रहरीलाई जानकारी भएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।