धनगढी। सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारी बन्ने निश्चित भएको छ। निर्णायकका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिनेभएपछि सुदूरपश्चिमको सभामुख माओवादीका भण्डारी बन्ने निश्चित भएका हुन् ।
आज बिहीबार दिउँसोसम्म साथ दिने/नदिने अलमलमा नागरिक उन्मुक्ति पार्टि रहेको थियो। प्रदेशसभामा उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीले भण्डारीलाई मतदान गर्न पार्टी सदस्यलाई अनुरोध गरेसँगै भण्डारी सभामुख बन्ने निश्चित बनेको हो ।भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तीका ७ र राप्रपाका १ संसदको समर्थन गरी २९ सांसद पुुग्नेछन्। यता अर्का सभामुख उम्मेदवार कांग्रेसका मानबहादुर रावलका पक्षमा कम्तीमा कांग्रेसका १९ तथा समाजवादीका ४ गरी २३ जना सांसद देखिएका छन् ।निर्वाचनमा मतदान प्रक्रिया केहीबेरमा सुरु हुनेछ।अहिले सभामुख चयन प्रक्रिया अघि बढिरहँदा प्रदेशसभा बैठक दोस्रो पटक स्थगित भएको छ।
सभामुखका लागि मनोनयन दर्तामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले र विपक्षी दल कांग्रेसबाट प्रदेश सांसद मानबहादुर रावलले उमेदवारी दर्ता गराएका थिए।सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनको प्रक्रियाका लागि डेढ बजेका लागि तोकिएको बैठक स्थगित भएर साढे दुई बजे सुरु भएको थियो। नागरिक उन्मुक्ति पार्टी साथ नपाउँने संकेत पाएपछि सत्तारुढ दल एमाले र माओवादीका नेताहरुको अनुरोधमा बैठक सारिएको थियो। यसअघि मुख्यमन्त्रीमा भने एमालेका राजेन्द्रसिंह रावलका पक्षमा नागरिक उन्मुक्ति पार्टिले अन्तिम समयमा मतदान गर्ने निर्णय गरेको थियो ।