सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा रावलले सपथ ग्रहण गर्ने भएका हुन् ।
रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाउनेछन् । संविधानको धारा १६८ को उपधारा(२) अनुसार रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले गरेको स्रोतले जनाएको छ ।
उनीहरुले मुख्यमन्त्रीसँगै सपथ ग्रहण गर्नेछन् । तर मन्त्रीपरिषद्मा क–कसलाई पठाउने भन्ने बारेमा दलहरु छलफल गर्न व्यस्त छन् ।